सुन-चाँदी व्यवस्थापन संयन्त्र बन्ने-
काठमाडौं, भदौ ९ (नागरिक)- नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित भएको छ। नेपाल राष्ट्र ब्याङ्कले सुन कारोबारमा लिएको नयाँ नीतिको विरोधमा उनीहरुले केही दिनदेखि सुनचाँदी कारोबार बन्द गर्दै आएका थिए। राष्ट्र ब्याङ्कले शुक्रबार नयाँ निर्देशिका जारी गर्दै सुनचाँदी व्यवसाय सङ्घसहित अन्य नेपाल रत्न तथा आभूषण सङ्घ तथा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घलाई पनि आयात गरेको सुन खरिदका लागि सिफारिस गर्न पाउने व्यवस्था गरेको थियो।
महासङ्घले केही दिनदेखि सुनचाँदी व्यवसायीका समस्या समाधानका लागि आफनो तर्फबाट पहल गर्दै आएको महासङ्घकै विज्ञप्तिमा जनाइएको छ। सोही विषयमा आज महासङ्घ सचिवालयमा नेपाल सुनचाँदी व्यवसायी सङ्घ, नेपाल रत्न तथा आभूषण सङ्घ, नेपाल सुनचाँदी कला व्यवसायी सङ्घ र नेपाल हस्तकला महासङ्घको बैठकबाट सुनचाँदीको व्यवसाय व्यवस्थित गर्न नेपाल सुनचाँदी व्यवसायी सङ्घको संयोजकत्वमा नेपाल रत्न तथा आभूषण सङ्घ र नेपाल सुनचाँदी कला व्यवसायी सङ्घका अध्यक्षसमेत रहेको “सुनचाँदी व्यवस्थापन संयन्त्र” निर्माण गरी सोही संयन्त्रमार्फत् यस क्षेत्रका यावत् विषयलाई सम्पादन गर्ने सहमति भएको छ।
यसै सम्बन्धमा महासङ्घ सचिवालयमा एक सहमतिपत्रमा हस्ताक्षरसमेत भएको जानकारी विज्ञप्तिमार्फत् दिइएको छ।
यस्तो छ सहमतिपत्र :
नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा महासङ्घका उपाध्यक्ष भाष्करराज कर्णिकारको अध्यक्षतामा आज २०६७ भदौ ९ गते तपसिलका महानुभावको उपस्थितिमा एक संयुक्त बैठक बस्यो। बैठकले निम्नानुसारको निर्णय गर्यो :
१. सुन चाँदी व्यवसायीलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन संयुक्तरुपमा कार्य अघि बढाउने उद्देश्यका लागि सामूहिकरुपमा अघि बढ्न प्रतिबद्धता व्यक्त गरियो।
२. सुन चाँदीको व्यवसाय व्यवस्थित गर्न नेपाल सुन चाँदी व्यवसायी सङ्घको अध्यक्षको संयोजकत्वमा नेपाल रत्न तथा आभूषण सङ्घ र नेपाल सुन चाँदी कला व्यवसायी सङ्घका अध्यक्षहरुसमेत रहेको “सुन चाँदी व्यवस्थापन संयन्त्र” स्थापित गर्ने।
३. सुन चाँदीको व्यवसायलाई व्यवस्थित बनाउन यस संयन्त्रले सुन चाँदी व्यवसाय सम्बन्धमा एक वृहत् कार्यविधि निर्माण गरी सोको अधिनमा रही यो संयन्त्रले आफ्नो कार्य सम्पादन गर्नेछ।
४. संयन्त्रको सचिवालय नेपाल सुन चाँदी व्यवसायी सङ्घमा रहने र सदस्यसचिवका रुपमा नेपाल सुन चाँदी व्यवसायी सङ्घका महासचिव रहने।
५. यस संयुक्त संयन्त्रले नेपाल सरकार, नेपाल राष्ट्र ब्याङ्कलगायत् सबै निकाय र इकाईहरुमा सबै सुन चाँदी व्यवसायीहरुको संयुक्त प्रतिनिधित्व गर्नेछ।
६. यस संयन्त्रले नै दैनिक रुपमा सुन चाँदीको भाउ तोक्ने र वितरण प्रणाली पनि व्यवस्थित गर्नेछ।
७. सुन चाँदीको बजारलाई खुला गर्दै लैजान आवश्यक नीति नियम तर्जुमा गर्न सरकारलाई सघाउने र कोटा बढोत्तरी आवश्यक भएमा सोका लागि पहल गर्नेछ।
८. निर्यात प्रयोजनका लागि आवश्यक सुन चाँदीको अतिरिक्त कोटाका लागि नेपाल राष्ट्र ब्याङ्कमा नेपाल हस्तकला महासङ्घको पहललाई संयुक्त संयन्त्रले सहयोग गर्नेछ।
९. हाल नेपाल सुन चाँदी व्यवसायी सङ्घले आह्वान गरेको आन्दोलन स्थगित गरी “संयन्त्र” ले तय गर्ने संयुक्त मागसहित नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा नेपाल रत्न तथा आभूषण सङ्घ र नेपाल सुन चाँदी कला व्यवसायी सङ्घसमेतको संयुक्त प्रयासमा आन्दोलनले सम्बोधन गर्न खोजेका मागलाई सम्बन्धित निकायमार्फत् पूरा गराइने सहमतिसमेत गरियो।
सहमतिपत्र हस्ताक्षर कार्यक्रममा महासङ्घका अध्यक्ष जोशीले निजी क्षेत्र एक भएमा जस्तोसुकै समस्या समाधान पनि सजिलै हुने उदाहरण यसले दिएको बताउँदै संयन्त्रमार्फत् यस क्षेत्रलाई अझ बढी व्यवस्थित र पारदर्शी बनाएर जान सहज हुने विश्वास दिलाएका विज्ञप्तिमा जनाइएको छ।
Leave a Reply