sunchadikakura.com

सुनचाँदी कुरा

सर्लाहीमा सुनचाँदी व्यवसायी संघको विरोध, महासंघका महासचिव धमला घटनास्थलमै

सर्लाही, भदौ ९ ।
सर्लाही सुनचाँदी व्यवसायी संघमा आबद्ध पप्पु ज्वेलरी उद्योग र जय किसन ज्वेलरीमा पदेलैया राजस्व कार्यलयको टोली सशस्त्र प्रहरी बल र जनपथ प्रहरीको ठूलो संख्यासहित अनुगमनमा पुगेपछि व्यवसायीहरूले कडा प्रतिकार गरेका छन्।

व्यवसायीहरूको भनाइअनुसार टोलीले आतंक फैलाउने शैलीमा अनुगमन गर्दै खाता–पाता, बिल–बिजकसहित सुनका गहना समेत लैजान खोजे पनि स्थानीय व्यवसायीहरूको प्रतिरोधपछि गहना लैजान नसकेको जानकारी दिइएको छ।

घटना भएको जानकारी पाएलगत्तै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका महासचिव नीरबहादुर धमला (विमल धमला) स्वयं सर्लाही पुगेका छन्। उनले घटनास्थलको वस्तुस्थिति बुझ्दै पीडित व्यवसायीहरूसँग भेटघाट गरेका छन् र समस्या समाधानका लागि महासंघ सक्रिय हुने प्रतिबद्धता जनाएका छन्।

संघका महासचिव निर बहादुर बिक (बिमल धमला) का अनुसार व्यवसायीहरू कानुन मान्न र ईमानदारीपूर्वक कर तिर्न तयार भए पनि ठूलो हुल लिएर गरिएको अनुगमनले व्यवसायीहरूलाई अपराधीझैँ देखाइएको छ। “यो खालको गतिविधिले हाम्रो मनोबल गिराएको छ र व्यवसाय गर्नै कठिन भएको छ,” उनले बताए।

घटनापछि सर्लाहीका सम्पूर्ण सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरी आक्रोश पोखेका छन्। लामो समयदेखि नीतिगत संरचना माग गर्दै आएका व्यवसायीहरूले ऐन–कानुन नदिई धरपकड गर्ने शैलीको अनुगमनले व्यवसाय नै बिस्थापित गर्ने खतरा बढाएको गुनासो गरेका छन्।

संघले यसरी निरन्तर दबाब र असुरक्षाका कारण धेरै व्यवसायी विदेशिनुपर्ने वा व्यवसाय छोड्नुपर्ने अवस्थामा पुगेको बताउँदै सरकारले तत्काल यस प्रकारका गतिविधि रोक्न माग गरेको छ।

अन्त्यमा सर्लाही सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य निरजन कुमार शाह सुनारसहित सम्पूर्ण पदाधिकारी र व्यवसायीहरूलाई महासचिव निर बहादुर बिक (बिमल धमला) ले धन्यवाद व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *